मुख्य सिफारिस ५

कामदार पठाउने उत्पत्ती मुलुकहरू तथा गन्तव्य मुलुकहरूले एकातिर रोजगारदाता र भर्ना एजेन्सीहरू अर्कोतिर आप्रवासी कामदारहरूबिचको शक्ति असन्तुलनलाई ध्यानमा राख्दै गुनासो संयन्त्र तथा उपचार प्रक्रियाको तर्जुमा गर्नुपर्दछ ।

भर्नाकर्ता र रोजगारदाताहरू विरुद्धको गुनासो सम्बोधन गर्ने प्रक्रियाको कमजोर तयारी गरियो भने आप्रवासी कामदारहरूलाई धेरै व्यवहारिक समस्या आउँछन् । त्यसले गर्दा धेरै अवस्थामा उनीहरूले पाउनुपर्ने भन्दा कम र भएको क्षति भन्दा धेरै कममा चित्त बुझाउनु पर्ने अवस्था हुन्छ । भर्नाकर्ता वा रोजगारदाता र आप्रवासी कामदारहरू बिचको शक्ति सम्बन्ध आप्रवासीको विपक्षमा यति धेरै असन्तुलित हुन्छ कि संवादबाट मिल्ने सम्भावना कम र अव्यवहारिक हुन सक्छ । रोजगारदाताहरूको हकमा आप्रवासीहरूको आप्रवासन स्थिति उनीहरूको नियन्त्रणमा हुँदा, आप्रवासी कामदारहरूलाई उनीहरूसँग सम्वाद गर्न बढी गार्हो हुन्छ । रोजगारदाताको घरमा सिमित हुने घरेलु कामदारहरूलाई रोजगारदातालाई नछोडी र कागजपत्र विहीन हुने जोखिम नमोली गुनासो गर्न झण्डै झण्डै असम्भव हुन्छ । मेलमिलाप प्रक्रियामा प्रस्ताव गरिएको क्षतिपूर्ति (केही क्षतिपूर्ति दिइएको अवस्थामा) आप्रवासी कामदारले स्वीकार नगरेमा, आप्रवासी कामदारको लागि बाँकी विकल्प भनेको लामो अदालती प्रक्रियामा जाने हो र त्यसमा आप्रवासी कामदारलाई धेरै लाभ हुनसक्दैन भन्ने कुरा रोजगारदाता वा भर्नाकर्तालाई थाहा हुन्छ । यस प्रक्रियामा जाँदा आप्रवासी कामदारलाई सम्भवतः आम्दानी विहीन र कागजपत्र विहीन अवस्थामा, अनिश्चित भविष्य कुर्दै लामो समयसम्म पर्खनु पर्ने हुन्छ ।

उत्पत्ती र गन्तव्य मुलुक दुवैका सरकारहरूले आप्रवासी कामदारहरूको यथार्थ अवस्था अनुसार सो अवस्थालाई सम्बोधन गर्ने गुनासो र उपचार प्रक्रिया तर्जुमा गर्नुपर्दछ । परिघटनाहरू प्रष्ट भएको अवस्थामा तिनीहरूले सरल र शिघ्र ढंगले उपचार प्रदान गर्ने संयन्त्रको विकास गर्नुपर्दछ । गन्तव्य मुलुकहरूका गुनासो संयन्त्रहरूले कामदारहरूलाई तिनीहरूको अध्यागमन स्थितिको सुरक्षा गर्ने र सो प्रक्रिया अवधिभरको लागि नयाँ काम खोज्ने सरल उपाय प्रदान गर्नुपर्दछ । स्वदेश फर्किएका कामदारहरूलाई रोजगारदाताहरू विरुद्ध मुद्दा चलाउन असम्भव गराउने भौगोलिक अवरोधहरूलाई पार लगाउन सरकारहरूले सम्भव भएसम्म प्रविधिको प्रयोग गर्ने विकल्पहरूको खोजी गर्नुपर्दछ, र मुद्दा दर्ता गर्नकै लागि देशका विभिन्न भाग पार गरेर राजधानी आउन बाध्य पार्नुभन्दा सरकारहरूले गुनासो लिन र प्रक्रिया सञ्चालन गर्न क्षेत्रीय शाखा कार्यालयहरू स्थापना गराउनुपर्दछ ।

५.१ सरल र प्रष्ट गुनासो प्रक्रिया प्रदान गर्ने र आप्रवासी कामदारहरूलाई प्रक्रियागत ढिलाइ हुने जोखिम र त्यसले उपचार माग गर्ने विषयमा उनीहरूलाई पार्ने असरको सम्बोधन गर्न द्रुत प्रक्रियाको सुरुवात गर्ने सम्बन्धी विचार गर्ने ।

५.२ सरकारी स्तरको मेलमिलाप प्रक्रिया रहेका स्थानहरूमा दक्ष, प्रशिक्षित र तटस्थ मेलमिलापकर्ताहरूको नियुक्ति गर्ने । मेलमिलाप प्रक्रियाको सञ्चालन वा त्यसमा गरिने आर्थिक सहायतामा कुनै पनि रोजगारदाता वा भर्ना एजेन्सीका संगठनहरू सहभागी नभएको सुनिश्चित गर्ने ।

५.३ कागजपत्र विहीन कामदार सहितका आप्रवासी कामदारहरूसँग रोजगारदाता र भर्नाकर्ताहरू विरुद्धको श्रम मुद्दाको लागि पर्याप्त आर्थिक स्रोत भएको कानुनी सहायताको अधिकार भएको सुनिश्चित गर्ने ।

५.४ गन्तव्य मुलुकहरूमा कागजपत्र विहीन कामदारहरूले गुनासो दर्ता गरेको कुरा अध्यागमनका अधिकारीहरूलाई जानकारी नगरिएको सुनिश्चित गर्ने ।

५.५ बेनामी उजुरीहरू दर्ता गर्ने संयन्त्रको विकास गर्ने ।

५.६ घरेलु कामदार र आवासीय हेरालुहरूले सुरक्षित तरिकाले गुनासो दर्ता गर्न सकून् भनी ठाउँमा ठाउँमा सोझै गएर उजुरी गर्न मिल्ने पर्याप्त वाक–इन सेवा केन्द्रहरू स्थापना गर्ने ।

५.७ स्वदेश फर्किएका कामदारहरूलाई गन्तव्य मुलुकमा न्यायिक र गैर–न्यायिक गुनासो संयन्त्रहरूसम्म सहज पहुँच पाउन सघाउन भिडियो प्रविधि र अन्य सहकार्यात्मक संयन्त्रहरूको सम्भाव्यताको खोजी गर्ने ।