आप्रवासन नीति
यो सूचक कामदार पठाउने र कामदार जाने गन्तव्य मुलुकका सरकारहरूले आफ्नो मुलुक बाहिर जाने र मुलुक भित्र आउने मानिसहरूको, त्यसमा पनि खासगरि अर्थतन्त्रको न्यून–आय क्षेत्रहरूमा वैदेशिक रोजगारीको लागि जानेहरूको आवतजावतलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने विषयको विश्लेषण हो । यसमा, पठाउने मुलुकहरूले वैदेशिक रोजगारीलाई नीतिगत प्राथमिकतामा राखे नराखेको र सरकारले आफ्ना नागरिकलाई स्वदेशमै रोजगारीका अवसरहरू प्रदान गर्न सक्रिय रूपमा काम गरे नगरेको र गरेको भए कसरी गरेको छ भन्ने विषयको मूल्यांकन गरिएकोछ । गन्तव्य मुलुकहरूको हकमा भने, यसले आप्रवासी कामदार भर्ना गर्न चाहने व्यवसायीहरू भएको श्रमबजारको चरित्र र आफ्ना नागरिकहरूको लागि रोजगारीका अवसर जोगाउन, रोजगारदातालाई नियन्त्रणका थप उपाय प्रदान गर्न वा जनसंख्याको बनावटमा आउनसक्ने परिवर्तनबारे मुलुकमा रहेको राजनीतिक चिन्तालाई मत्थर गर्ने गरी तय गरिएको नियन्त्रणमूखि आप्रवासन नीतिहरूबीचको अन्तक्रियाबारे चर्चा गरिएकोछ । सरकारले आप्रवासन नीतिलाई कुन हदसम्म नियमन गर्दछ र आफ्नो आप्रवासन नीति तर्जुमा गर्दा लैंगिकताबारे कति ध्यान दिन्छ भनेर पनि हेरिएकोछ । श्रम आप्रवासन र कामदार भर्नाबारे अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले राष्ट्रिय आप्रवासन नीतिहरूको मापदण्ड सम्बन्धी प्रदान गर्ने कार्यविधि सिमित छ र ती नीतिहरूले धेरै हदसम्म मुलुकहरूलाई आफ्नो तजविजी प्रयोग गर्ने अधिकार दिन्छन् भन्ने विषय उल्लेखनीय छ ।
नीतिगत सामन्जस्यता (१.१)
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को न्यायोचित भर्नासम्बन्धी साधारण सिद्धान्तहरू र सञ्चालन कार्यविधि (कार्यविधि १०.१) अनुसार, सरकारहरूले श्रम बजारको आवश्यकता सम्बोधन गर्न ‘श्रम बजारको आवश्यकता मूल्यांकन गर्ने र कामदार भर्ना र आप्रवासनको व्यापक सामाजिक तथा आर्थिक असरहरूमा ध्यान दिनको लागि र सबैको लागि मर्यादित कामलाई प्रवर्धन गर्नको लागि कामदार भर्ना, आप्रवासन, रोजगारी र अन्य राष्ट्रिय नीतिहरूमा एकरुपता र स्पष्टता भएको सुनिश्चित’ गर्नुपर्दछ । आप्रवासन नीति र श्रम बजारको यथार्थबीचको असमाञ्जस्यताले गर्दा आप्रवासी कामदारहरूले दुःख पाउन सक्छन् । पठाउने मुलुकहरूले अक्सर वैदेशिक रोजगारीलाई समग्र आर्थिक विकासको माध्यम र आफ्नो घरेलु अर्थतन्त्रमा उत्पादनशील रोजगारीका अवसरहरूको अभावलाई कम गर्ने माध्यमको रूपमा लिन्छन् । गन्तव्य राष्ट्रहरूका लागि भने यसले एकातिर महत्वपूर्ण आर्थिक क्षेत्रहरूमा श्रमशक्तिको गम्भीर अभाव र अर्कोतिर आप्रवासनको तीव्र गतिले जनसंख्याको बनावटमा आइरहेको परिवर्तनबारे, अक्सर राजनीतिक क्षेत्रले उचालेका चिन्ताहरू सहितका श्रम बजारका आवश्यकताहरू बीचको अप्ठ्यारो विरोधाभासहरूको मूल्यांकन गर्दछ ।
वैदेशिक रोजगारीमा प्रतिबन्ध (१.२)
केही पठाउने मुलुकहरूले निश्चित गन्तव्य देशहरूमा आप्रवासी कामदारलाई रोजगारी लिन प्रतिबन्ध लागू गरेका छन् र धेरैजसो अवस्थामा यी प्रतिबन्धहरू श्रमिकहरूको अधिकारको रक्षा गर्नको लागि हुन् भनी पुष्टी गरिन्छ । यस उपखण्डले त्यस्ता प्रतिबन्धहरू लागू भएका छन् कि छैनन् र त्यसले आप्रवासी श्रमिकको अधिकारलाई बढाउन वा कमजोर बनाउन कति काम गर्दछ भनी मूल्यांकन गर्दछ ।
सरकारी–सरकारी (जी२जी) भर्ना (१.३)
आप्रवासी कामदारको अन्तर्देशीय भर्ना प्रक्रियाको अधिकांश काम निजी क्षेत्रले गर्दछ र सामान्यतया सरकारहरूले आफ्नो भूमिका भर्ना प्रक्रिया र रोजगार अभ्यासहरूको नियमनमा मात्र सीमित गर्ने गर्दछन् । तर, केही सरकारहरूले थप सक्रिय भूमिका निर्वाह गर्दछन् र सरकारी–सरकारी भर्ना (जी२जी) भनिने सरकार–सरकार बीच सम्झौता गरि भर्ना प्रक्रियालाई सरकारी स्तरबाटै सहजिकरण गर्ने प्रक्रियालाई रुचाउँछन् । जी२जी भर्ना मोडेलका विभिन्न स्वरुपहरू छन्, तर समग्रमा भन्दा जी२जी भन्नाले उम्मेदवारहरूको मूल्यांकन, चयन र पदस्थापन जस्ता भर्ना प्रक्रियाका प्रमुख चरणहरू निजी क्षेत्रलाई नदिई द्विपक्षीय सरकारी संयन्त्रले सहमतीमा तय गरेको प्रक्रियाहरू मार्फत सरकारी निकायहरूले गर्ने व्यवस्थालाई जनाउँछ । यस उपखण्डले अध्ययनमा समावेश मुलुकका सरकारहरू जी२जी प्रावधानहरूप्रति कति प्रतिबद्ध छन् र भर्ना प्रक्रियामा सरकारको संलग्नताले कामदारहरूमा कुनै देखिने प्रभाव परेको छ कि छैन भनी मूल्यांकन गर्दछ ।
लैंगिकता (१.४)
अन्तर्राष्ट्रिय मानव अधिकार कानून अन्तर्गत आप्रवासी कामदारले लैङ्गिक वा लैङ्गिक पहिचानका आधारमा रोजगारीको पहुँचमा भेदभावको सामना नगरून् भन्ने सुनिश्चित गर्न र उनीहरूलाई उनीहरूको लैङ्गिकता वा लैङ्गिक पहिचानका कारण हुनसक्ने विशिष्ट जोखिमबाट सुरक्षित गरिएको सुनिश्चित गर्न राज्यको दायित्व हुन्छ । निश्चित आर्थिक क्षेत्रमा कसले काम गर्न सक्छ वा गर्नु पर्दछ भन्ने बारेमा लैंगिक विभेदयुक्त सोच, कामदार पठाउने मुलुकहरूमा परिवार भित्र पुरुष र महिलाको भूमिकाबारे परम्परागत अपेक्षाहरू र आप्रवासन चक्रमा महिलाहरूका लागि सुरक्षा चिन्ता आदि विषयले आप्रवासी श्रमिकहरूलाई जोखिम पार्दछ र उनीहरूमाथि दुर्व्यवहार हुन सक्ने खतरा रहन्छ । यस उपखण्डले सरकारहरूले आफ्नो आप्रवासन नीतिमा लिङ्ग र लैङ्गिक पहिचानलाई कति सम्बोधन गर्दछन् भन्ने विश्लेषण गर्दछ ।
भिसा प्रक्रिया (१.५)
श्रम आप्रवासन प्रक्रिया र यसका नियमहरू अत्यन्त जटिल हुन सक्छन् । यसकारणले कामदारहरू कामको लागि वैदेशिक रोजगारीमा जानको लागि अक्सर बिचौलियाहरूमा भर पर्दछन् र आफ्नो आत्मनिर्भरता कम गर्दछन् र बिचौलियाहरूलाई कामदारहरूबाट पैसा लिन सहज बनाइदिन्छन् । जटिल प्रक्रियाले नियमित आप्रवासन मार्गलालाई अनौपचारिक, दस्तावेजविहिन आप्रवासनभन्दा कम आकर्षक बनाउन सक्छ । गन्तव्य मुलुकका रोजगारदाताहरूले अक्सर लामो र झण्जटिलो सरकारी प्रक्रियाबाट भर्ना प्रक्रिया अर्को कुनै निकायलाई ठेक्कामा दिन्छन् र अक्सर नाउँ नचलेका साना एजेन्सीहरूलाई दिने गर्दछन् । यस उपखण्डले कामदारहरूको सुरक्षाको लागि समेत डिजाइन गरिएका जटिल नियामक प्रावधानहरूले आप्रवासी कामदारहरूमा देखिने असर कति पारेको छ भनी मूल्यांकन गर्दछ ।
रोजगारी परिवर्तन सम्बन्धी व्यवस्था (१.६)
हालैका दशकहरूमा कामको अवधि पूरा भएपछि, आफ्नो मुलुक फर्कने अस्थायी, वा चक्रिय आप्रवासन श्रम आप्रवासनको सबैभन्दा प्रचलित स्वरुप हो । अस्थायी आप्रवासन कार्यक्रमले आप्रवासी कामदारहरूलाई अक्सर आफ्नो भिसा अवधिको लागि एक रोजगारदातासँग बाँध्छ । यस्ता नीतिहरूले आप्रवासी कामदारहरूलाई रोजगारी परिवर्तन गर्नबाट रोक लगाउँछ र र यो थुप्रै देशहरूमा मानवअधिकारको दुरुपयोगसित जोडिएको छ । आप्रवासी कामदारले रोजगारदाता परिवर्तन गर्न कानुनी रुपमा सम्भव छ कि छैन, व्यवहारमा कति सजिलो छ र रोजगारी परिवर्तन गर्न पाउने (वा नपाउने) नियमले आप्रवासी कामदारका लागि कुन हदसम्म सकारात्मक र नकारात्मक असर गर्दछ भन्ने कुरा यस उपखण्डले केलाउँछ ।
आवासीय अनुमति र नागरिकतासम्बन्धी प्रावधान (१.७)
कतिपय देशहरूले आप्रवासी कामदारहरूलाई स्थायी बसोबास वा नागरिकता प्राप्त गर्ने अवसर प्रदान गर्दछन् । निश्चित वर्षसम्म काम गरेपछि प्राप्त हुने वा प्रारम्भिक भर्नाकै अभिन्न भागको रूपमा यसको व्यवस्था गरिएको हुन्छ । यस उपखण्डले नागरिकता प्राप्त गर्ने प्रावधान भएका देशहरूमा सो व्यवस्थाले आप्रवासी कामदारलाई सकारात्मक प्रभाव पारेको छ कि छैन भन्ने मूल्यांकन गर्दछ ।