मुख्य सिफारिस २

गन्तव्य मुलुकहरूले सबै कामदारहरूको लागि थप न्यायोचित श्रम बजारको प्रवर्धन गर्ने र आप्रवासी कामदारहरूलाई विशेष अनुमति नलिई समयमै रोजगारदाता परिवर्तन गर्न पाउने सहज उपायको व्यवस्था गर्ने ।

आप्रवासी कामदारहरूले गन्तव्य मुलुकमा रोजगारी परिवर्तन गर्न नपाउने व्यवस्थाले न्यायोचित भर्नालाई ठुलो अवमूल्यन गर्दछ । भर्नाकर्ताहरू र रोजगारदाताहरूलाई कामदारहरूलाई शोषण हुने स्थानमा पदस्थापन गरे पनि कामदारहरूको विकल्प सिमित हुन्छ भन्ने कुरा राम्ररी थाहा छ । कामदारहरूले रोजगारी परिवर्तन गर्न पूरै असम्भव नभए पनि त्यसो गर्न गार्हो हुन्छ भन्ने भर्नाकर्ताहरूलाई जानकारी हुँदा उनीहरूलाई कामदारसँग धेरै शुल्क लिन सहज बनिदिन्छ, र सेवाका सर्तहरूबारे झुक्याउन सजिलो हुन्छ । यसले रोजगारदाताहरूलाई कामदारको न्यायोचित भर्ना भएको सुनिश्चित गर्न र उनीहरूले रोजगारीको प्रकृति र सर्तहरू बुझेको र सहमति जनाएको सुनिश्चित गर्न प्रोत्साहन गर्दैन । यस अध्ययनमा समावेश भएका सबै गन्तव्य मुलुकमा दुव्र्यवहार भएका कामदारले रोजगारदातालाई छोड्ने प्रक्रिया विद्यमान रहेको छ, तर त्यस्तो प्रक्रिया सहज छैन, जटिल छ र प्रमाणको भार उच्च छ । यी प्रणालीहरूले प्रभावकारी तरिकाले काम गरे भने कामदारहरूले कमसेकम गम्भीर दुव्र्यवहार भएको खण्डमा उजुरी गर्नसम्म पाउँछन् ।

रोजगारी परिवर्तन गर्ने सिधा उपाय नभएको प्रायोजित भिसा प्रणालीहरूले रोजगारदाता र कामदार बिच ठुलो शक्ति असन्तुलन कायम गर्दछ, र कामदारहरूको आफ्नो निर्णय लिने अधिकारलाई सिमित गरिदिन्छ । सरकारहरूलाई नागरिकहरूले रोजगारीका अवसरमा पाउने अग्राधिकारलाई रक्षा गरेको र आप्रवासन र श्रम बजार नियन्त्रणमा रहेको तर्क गर्न सजिलो बनाउने गरी प्रायोजित भिसा कार्यक्रममा अक्सर मुलुक भित्रको राजनीतिक सहयोग हुन्छ । यथार्थमा, यसको असर आप्रवासी कामदारहरूलाई काममा लगाइएको क्षेत्रमा नागरिकहरू प्रवेश गर्न नचाहने किसिमले तलबलाई अत्यन्त थोरै बनाउने, र शोषणकारी रोजगारदाताले काममा लगाएका कामदारहरूलाई गैरकानुनी हैसियतमा पुर्याइदिने हुन्छ । यस्तो व्यवस्थाले विदेशी कामदार भर्ना गर्नको लागि प्रोत्साहित पनि गर्दछ । विदेशी कामदारहरूलाई नागरिकहरूलाई भन्दा रोजगारी छोड्न गार्हो हुन्छः एक अध्ययन अनुसार, व्यवसायको लागि, ‘‘विदेशी कामदार रुचाउनुका धेरै कारण छन्, एउटा कारण के हो भने उनीहरू त्यो कामबाट निस्किए भने उनीहरूले त्यो देशमा बस्ने अधिकार पनि गुमाउने हुनाले तिनीहरू आफ्नो रोजगारदाता प्रति बढी बफादार हुन्छन्’’ । अर्को शब्दमा भन्ने हो भने नागरिकहरूले प्रायोजित भिसा व्यवस्थाबाट लाभ पाउँछन् नै भन्ने हुँदैन, बरु यस्तो व्यवस्थाले उनीहरूलाई काम पाउन झन् गार्हो हुनसक्छ ।

आप्रवासी कामदारहरूले रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको रोजगारदाताहरूले अक्सर विरोध गर्ने गर्छन् । कतिपयले त कामदारलाई सजिलै रोजगारी परिवर्तन गर्न दिने व्यवस्था न्यायोचित भर्ना सुनिश्चित गर्ने व्यवस्थासँग मिल्दैन भन्ने तर्क पनि गर्छन् । कामदार भर्नाको सबै खर्च रोजगारदाताले तिर्ने हो भने उक्त कामदारले निश्चित अवधि सम्म काम गर्ने सुनिश्चित गर्नुपर्छ भन्ने तर्क पनि गर्छन् । कामदारहरूले रोजगारी परिवर्तन गर्न पाए भने उनीहरू आउने बित्तिकै राम्रो तलब पाउने अर्को काममा वा अर्को क्षेत्रको काममा जानको लागि रोजगारी परिवर्तन गर्छन् र व्यवसायहरू अवरुद्ध गराउँछन् भन्ने तर्क छ । आप्रवासीहरूलाई रोजगारी परिवर्तन गर्न पाउने सहज व्यवस्था गर्दा सामूहिक राजिनामा आउने वा श्रम बजारमा अस्थिरता आउने प्रमाण कमै भए तापनि, अवसर पाए कामदारहरूले तत्काल रोजगारी परिवर्तन गर्न सक्छन् भन्ने तर्कले प्रायोजित भिसामा आएका कामदारहरूलाई काम लगाइने धेरैजसो रोजगारीहरूमा कृत्रिम रूपले कम तलब दिइएको हुन्छ र यससँग सम्बन्धित अवस्था नाजुक हुन्छ भन्ने संकेत गर्दछ । रोजगारदाताहरूले कामदारको अधिकारको सम्मान गर्ने र मर्यादित काममा आप्रवासी कामदारहरूलाई न्यायोचित तरिकाले भर्ना गरिएको अवस्थामा, पहिलो अवसर पाउने बित्तिकै रोजगारी परिवर्तन गर्न आप्रवासी कामदारहरू कम लालायित हुनसक्छन् ।

कामदारहरूलाई रोजगारदाताको प्रायोजनमा राख्ने र आप्रवासन स्थितिको लागि रोजगारदातामा भर पर्नुपर्ने धेरै देशहरूमा प्रचलित अस्थायी आप्रवासन नमुनाले न्यायोचित भर्ना सुनिश्चित गर्न सक्दैन । सरकारहरूले आप्रवासी कामदारलाई कानुनी हैसियतमै सुरक्षित तरिकाले रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गर्नुपर्छ र यो व्यवस्था सरल, सहज, छोटो र सबै कामदारहरूलाई समेट्ने हुनुपर्छ र तिनीहरूको अध्यागमन स्थितिलाई तिनीहरूको रोजगारदाताहरूबाट अलग राख्ने व्यवस्था हुनुपर्छ । रोजगारदाता परिवर्तन गर्न पाउने अधिकार दुव्र्यवहार वा शोषणको उजुरी हालेका कामदारमा मात्र सिमित गर्नुहुँदैन । त्यस्तो प्रावधान जतिसूकै प्रभावकारी भए तापनि, त्यस्तो प्रतिबन्धात्मक व्यवस्थाले कामदारहरूलाई आफ्नो रोजगारदाता विरुद्ध उजुरी गरेर मात्र रोजगारी परिवर्तन गर्न पाउने व्यवस्था गर्छ, र यस प्रक्रियालाई वैमनस्यतापूर्ण बनाउँछ । सरकारहरूले देहायबमोजिम गर्नुपर्छ ।

२.१ आप्रवासी कामदारहरूलाई निजहरूको करार अवधि सकिनु भन्दा पहिले नै रोजगारी परिवर्तन गर्नबाट लगाइएको रोक वा वर्तमान रोजगारदाताबाट अनुमति लिएर मात्र रोजगारी परिवर्तन गर्न पाउने व्यवस्था खारेज गर्ने ।

२.२ कामदारहरूलाई सम्बन्धित देशभित्रै रोजगारी परिवर्तन गर्नको लागि सरल र छोटो प्रक्रिया प्रदान गर्ने र त्यसो गर्दा तिनीहरूलाई प्रतिशोधको जोखिमबाट पूर्ण रूपमा जोगाउने कानुनी व्यवस्था भएको सुनिश्चित गर्ने ।

२.३ भिसा वा “वर्क पर्मिट” भनिने श्रम इजाजतमा नतोकिएको रोजगारदाताको लागि काम गर्दा लाग्ने फौजदारी अभियोग हटाउने ।

२.४ आप्रवासन मार्गले आप्रवासी कामदारको आवासीय हैसियत एक निश्चित रोजगारदातासँग नजोड्ने सुनिश्चित गर्ने ।