नेपाल - कतार: कामदार र अन्य व्यक्तिलाई सही सूचना उपलब्ध गराउने उपायहरू
विदेशको श्रम आवश्यकता सम्बन्धी स्पष्ट विवरण उत्पादन गर्ने सरकारको प्रयासको बाबजुद नेपाली आप्रवासी कामदारहरूले आफ्नो लागि सबैभन्दा उपयुक्त गन्तव्यको विषयमा सूचित निर्णय लिन अप्ठ्यारो महशुस गरिरहेका छन् । आप्रवासी कामदारहरूलाई कामको लागि गन्तव्य मुलुक जानको लागि तयारी गर्न छापामा र श्रव्य दृश्यमा विभिन्न सामग्रीहरू उपलब्ध छन् । सबै सामग्रीको उपभोग र फैसलावट भिन्न भिन्न स्तरको रहेको छ । सम्बन्धित कानुनी व्यवस्था, कालोसूचीमा राखिएका एजेन्सीहरूको डाटाबेस र गन्तव्य मुलुकमा जानको लागि आवश्यक अभिमूखिकरणका विषयहरू लगायतका सुरक्षित भर्ना सम्बन्धी विस्तृत सूचना दुईओटा सरकारी वेबसाइटमा उपलब्ध छन् । तर यी स्रोतहरूको उपलब्धताबारे धेरैलाई जानकारी छैन, र धेरैजसो अनुभवी वा शिक्षित आप्रवासी कामदारले मात्रै यसलाई प्रयोग गर्छन् । खासगरि वैदेशिक रोजगारीमा जान चाहने महिला र दुर्गम क्षेत्रका कामदारहरू र नेपाली भाषा बोल्न नजान्ने, लेख्न पढ्न नजान्ने वा इन्टरनेटको प्रयोगको अनुभव नभएका सम्भावित कामदारहरू अहिले पनि एजेन्ट वा अन्य आप्रवासी कामदारले दिएको सूचनामा भर पर्छन्, र अक्सर ठगी र कूसूचनाको जोखिममा रहन्छन् । नियमित प्रक्रियाबाट वैदेशिक रोजगारीको यात्रा गर्ने सबै नेपाली आप्रवासी कामदारहरूले दुई–दिने पूर्व उडान अभिमूखिकरण कक्षा लिनुपर्छ; तर धेरै महिला लगायत अनियमित तरिकाले विदेश जानेहरूलाई यस अभिमूखिकरणबाट वञ्चित गरिन्छ । पहिलो चोटि विदेश जानेहरूले यस कोर्सलाई निकै उपयोगी मानेका छन्; विदेशबाट फर्किएकाहरूले अक्सर जुन देश जाने हो सोही देशबारे विशिष्ट जानकारी नदिइएकोमा आलोचना गरेका छन् । तालीम सञ्चालन गर्ने सबै निजी क्षेत्रका प्रतिष्ठानहरू पाठ्यक्रम भित्र मात्रै रहँदैनन्, र भर्ना एजेन्सीहरूले गर्ने ठगीमा खासै ध्यान दिइँदैन । धेरै तालीम प्रदायकहरूले कोर्सको शुल्क तिरेपछि कक्षामा सामेल नभएकाहरूलाई पनि प्रमाणिकरण गरेर पठाउने गरेका छन् । र धेरैले भर्ना एजेन्सीसँग व्यवसायिक गठबन्धन गरेका हुन्छन्, जसमा स्वार्थ बाझिन सक्छ र कतिपय अवस्थामा अभिमूखिकरणलाई शक्तिको आडमा कानुनको दुरुपयोग गरि अनुचित लाभ लिने मेसोको रूपमा मात्रै लिनसक्छन् । स्वीस सरकारसँगको संयुक्त पहल अन्तर्गत नेपालभरका ३९ जिल्लाका राहदानी आवेदन केन्द्रहरूमा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । तिनका जनसम्पर्क स्वयंसेवक र छापा तथा प्रशारण कार्यक्रमहरू सहित यी केन्द्रहरूले आप्रवासीहरूलाई तिनीहरूको अधिकार र तिनको आप्रवासन यात्रामा हुनसक्ने सम्भावित ठगीबारे सचेतना वृद्धि गर्न केही सफलता हासिल गरेका छन् । यद्यपि आप्रवाशनतिर धकेल्ने कारणहरूलाई भने यी केन्द्रले सम्बोधन गर्न सक्दैनन् । नेपाली अधिकारीहरूले तालीमहरू सञ्चालन गर्ने सम्बन्धमा, अभियानहरू सञ्चालन गर्ने सम्बन्धमा र लक्ष्यित प्रकाशनहरूको सम्बन्धमा आइएलओसँग नजिकसँग मिलेर काम गरिरहेका छन् । तर, धेरै आप्रवासी कामदारहरूले ‘फ्री भिषा, फ्री टिकट नीति’को बारेमा जानकार हुँदाहुँदै पनि पैसा तिर्न बाध्य भएको कुरा स्वीकार गरेकाले सूचना प्राप्त गर्नाले मात्र करार प्रतिस्थापन वा गैरकानुनी भर्ना शुल्क वा अन्य सम्बन्धित खर्चको असुली रोकिँदैन भन्ने देखिन्छ ।
कतारमा आप्रवासीहरूलाई श्रम सूचना दिने सम्बन्धी व्यवस्थाहरू कमजोर नै रहेका छन् । तर, हालसालै केही सकारात्मक विकासहरू भएका छन्, खासगरी कतार र आइएलओबीचको प्राविधिक सहकार्यको नतिजा स्वरूप । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको वेबसाइटमा न्यायोचित भर्नाबारे थोरै मात्र सूचना देखिन्छ, र न्यून ज्याला पाउने अधिकांश आप्रवासीहरूले पढ्न नसक्ने अरबी संस्करण अंग्रेजी संस्करण भन्दा बढि विकसित र अद्यावधिक छ । यी अनलाइन सामग्रीमा अत्यावश्यक कानुनी पाठहरू छैनन्, र गलत अभ्यासको कारण प्रतिबन्ध लागेका भर्ना एजेन्सीहरू र रोजगारदाताहरूबारे कुनै पनि डाटाबेस उपलब्ध छैन । आप्रवासी कामदारहरूको लागि सूचना प्रदान गर्न हालै जारी गरिएको सरकारको आधिकारिक सूचना वेबसाइट हुकुमीले कतारका सबैभन्दा ठुला आप्रवासी समुदायहरूले बोल्ने भाषाहरूमा अलिक पूर्ण सूचना प्रदान गर्छ, तर श्रम आप्रवासनको व्यवस्थापन गर्ने र आप्रवासीहरूको अधिकारको सुरक्षा गर्ने महत्वपूर्ण कानुनी सुधारहरूबारे जानकारी प्रदान गर्दैन यद्यपि केही सकारात्मक विकास भने भएका छन् । कतार सरकारले इजाजतको म्याद थपको लागि आवेदन गर्न र भर्ना एजेन्सी र रोजगारदाताबारे उजुरी गर्न मिल्ने गरि मोबाइल फोन एप्लिकेशनहरू जारी गरेको छ । कोभिड–१९ महामारीको समयमा आप्रवासी कामदारहरूलाई स्वास्थ्यसम्बन्धी र अन्य सल्लाह प्राप्त गर्नुका साथै प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको उजुरी शाखाको सम्पर्क विवरण प्रदान गर्न १० फरक भाषाहरू बोल्ने स्वयंसेवकहरूसँग सम्पर्क गराउने गरि हुकुमीले एक प्ल्याटफर्म जारी गर्यो । आइएलओसँगको साझेदारीमा, मन्त्रालयले कतारी रेडियो र टेलिभिजनका साथै सामाजिक सञ्जालहरूमार्फत् जबर्जस्ती श्रम र मानव तस्करीबारे सार्वजनिक सन्देशहरू प्रशारण गरायो; श्रम कानुनका पक्षहरूबारे व्यवसायहरूका लागि वेबिनार र सम्मेलनका शृंखलाहरू आयोजना गर्यो; र विश्वव्यापी युनियनहरू र महासंघहरूसँग संवाद सुरु गर्यो । २०२१ को मार्च महिनामा सरकारको संचार कार्यालयले कतारी श्रम कानुन र नियमनसम्बन्धी सूचना निशुल्क वितरण गर्न ह्वाट्सय्याप सेवा सुरु गर्यो । आइएलओले मन्त्रालयलाई सचेतना वृद्धिको लागि उच्च तापक्रमले सिर्जना गर्ने तनाव, करारहरू र न्यूनतम ज्याला, घरेलु कामदार, र ज्याला सुरक्षा प्रणालीको सञ्चालन जस्ता विविध विषयमा सम्बन्धित भाषाहरूमा थुप्रै भिडियोहरू निर्माण गर्नको लागि पनि सहायता प्रदान गर्यो ।
नेपाल सरकारलाई सिफारिसः
- विदेश जानु पहिले दिइने तालिमलाई परिमार्जन गर्दै मुलुक अनुसारका र जालझेल, जोखिम र गुनासो संयन्त्रसम्बन्धी सूचना सामेल गर्ने ।
- घरेलु कामदारलाई रोजगारका लागि जानू-पूर्व खाडी मुलुकमा रहेका दूतावास तथा अन्य कुटनीतिक निकायमा निरन्तर फोन सम्पर्क गर्ने प्रक्रिया लगायतका विषयमा विशेष तालिम दिने
- विदेश जानु पहिले दिइने सेमिनारसँगै थप गन्तव्य मुलुक पुग्नेबित्तिकै चाहिने अभिमुखीकरण, गन्तव्य मुलुकसम्बन्धी विशिष्ट जानकारीसहित पुगेपछि निरन्तर सूचना प्रेषण गर्ने व्यवस्था गर्ने
- कामदारलाई विदेश जानु पहिले र गन्तव्य पुगिसकेपछि दिइने तालिम र सेमिनारमा निजि रोजगार भर्ना कम्पनीलाई कुनै पनि भूमिकामा संलग्न नगराउने ।
कतार सरकारलाई सिफारिसः
- कामदारका लागि आवश्यक मुख्य सूचनाहरू श्रमसम्बन्धी मन्त्रालयको वेबसाइटमा कामदारहरूले बुझ्ने सबै मुख्य भाषामा उपलब्ध गराउने
- हुकुमी प्लेटफर्मलाई घरेलु कामदार ऐन २०१७ र श्रम विवाद निरुपण समितिसम्बन्धी सूचनासहित अद्यावधिक गराउने, र साथसाथै यसलाई नयाँ कानुन र नीतिगत परिवर्तनसहित निरन्तर अद्यावधिक गराउने ।